तीजको नाममा अस्लिल गीत, रोक्ने प्रसँगमा संघ संस्थाबीच जुहारी

Home /  News

काठमाडौं । यतिबेला विभिन्न तीज गीतले नेपाली बजार पिटिरहेको छ । तीज आउन अझै एक महिना बाँकी छ । तीजको नाममा अश्लिल गीत निकाल्ने क्रम बढेपछि केही संघ संस्थाले यस्तो गीतहरुलाई सामुहिक बहिस्कार समेत गरेका छन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजलाई लक्षित गरेर हालै बजारमा ल्याइएका ५ गीतलाई सामुहिक बहिष्कारको घोषणा गरेको छ । तीज संस्कृतिलाई असर पर्ने गरी विकृति जन्य रुपमा ल्याईएको भन्दै अबका दिनमा अस्लिल गीतलाई प्रचार प्रसार नगर्ने घोषणा समेत एक विज्ञप्ति मार्फत गरेको छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले अहिले बजारमा आएका कबिता खत्री र भागिरथ चलाउनेको ‘दिउँला बरिलै…’, प्रिति आलेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी बिमर्शीको ‘बिस्ताराले पोल्यो’ र प्रिति आले र प्रकाश शर्माको ‘चियर्स बियर’ तीज गीतलाई पूर्ण बहिष्कारको घोषणा गरेका छन् । तीजको नाममा निकालिएका यी गीतहरुको शब्द दुई अर्थि भएको र यसको भिडियो पनि अस्लिल भएको सो संस्थाको दाबी छ ।

लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विकृतिजन्य गीतहरुले नेपालको धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रमाथि क्षति पुग्ने बताएका छन् । नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघ नेपाल, म्यूजिक भिडियो निर्देशक समाज नेपाल, म्यूजिक भिडियो कलाकार संघ नेपाललाई समेत यस्तो गीतहरुलाई रोक लगाउन लोक सञ्चारकर्मी नेपालले अपिल गरेको छ ।

गीत संगीतमा बिकृति आउनु हुँदैन भनेर आफुहरु लामो समयदेखि सचेत रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले बताएकी छिन् । पछिल्लो समय तीज गीतका नाममा अस्लिल गीतहरु आउने क्रम बढेपछि दुई दिन अघि मात्र अध्यक्ष रिता थापा मगरकै नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारहरुले काठमाडौं प्रहरी टेकुको अपराध अनुसन्धान शाखालाई भेटेर यस’boutमा ध्यानाकर्षण गराएका छन् ।

यो विषयमा यस प्रतिष्ठानका महासचिब शिब हमालले राजधानीसँग भने,‘गीतसंगीतमा आएका बिकृति बिसँगतीलाई कसरी रोक्न सकिन्छ भनेर हामीले प्रहरीसँग विमर्स गरेका छौं । उहाँहरुले पनि अब यस्ता बिकृतिमुलक गीतसंगीत रोक्ने कार्यमा तत्कालै उत्रने प्रतिवद्धजना जनाउनु भएको छ ।’ बिगतका वर्षमा पनि प्रतिष्ठानले यस्ता गीतहरुलाई रोक लगाएको भन्दै महासचिब हमालले भने,‘हामी आज बेलुका प्रतिष्ठानमा बैठक बसेर यस्ता अस्लिल तीज गीत रोक्नको लागि विशेष निर्णय गर्नेछौं ।’

यस्तै राष्ट्रिय संगीतकर्मी संघले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको विज्ञप्ति प्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । आफ्नो संघका कलाकारले अस्लिल गीत ननिकालेको जवाफ यो संघले दिर्एको छ । संघका अध्यक्ष प्रकाश कटवालले मँगलबार राजधानीसँग भने,‘हामीले तीजको नाममा अस्लिल गीत न निकाल्न आफ्ना सदस्यहरुलाई सचेत गराएका छौं । संस्थामा आबद्ध नभएका कलाकारहरुलाई हामीले केही भन्न मिल्दैन ।’ अध्यक्ष कटवालले अगाडि भने,‘यस्ता बिकृति बिसँगति रोक्नु राज्यको मुख्य दायित्व हो । यस कुराप्रति जिल्ला प्रशासन कार्यालय र प्रहरीले चासो देखाउनु पर्ने हो ।’

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको विज्ञप्ति प्रति आफुहरुले ध्यानाकर्ष भएको भन्दै नेपाल म्युजिक भिडियो निर्देशक समाजले सोमबार एक विज्ञप्ति निकालेको छ । यसमा म्युजिक भिडियो निर्देशकलाई दोषी बनाउन नमिल्ने समाजकी अध्यक्ष बबिता श्रेष्ठ ‘मलेकु’ले बिज्ञप्तिमार्फत जनाएकी छिन् । म्युजिक भिडियो निर्देशक भन्दा पनि गायक गायिका, गीतकार तथा संगीतकारलाई नै अस्लिल गीत नल्याउन खबरदारी गर्नु पर्ने उनको जवाफ छ ।

म्युजिक भिडियो निर्देशक तिज गीतका नाममा बढ्दो बिकृतिलाइ सबै मिलेर निरुत्साहित गरौँ भन्दै अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा लेखेकी छिन्,‘ तिजलाई लक्षित गर्दै अहिले बजारमा निकै अभद्र खालका शब्द, चयन गरि अडियो निर्माण भएको छ, अडियो बने पछि भिडियो बन्ने नै हो । निर्देशकहरुले अडियो अनुसार नै भिडियो निर्माण गर्ने हो ।’ त्यसैले यो बिषयलाई मध्यनजर गरि पहिला गितकारले गीत राम्रो लेख्नु पर्ने उनको सुझाब छ ।

गायक गायिकाले यस्तो गीत गाउन नहुने उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् । गीत अस्लिल भयो भनेर म्युजिक भिडियो निर्देशकलाई दोष लगाउनु गलत भएको विज्ञप्तिमा उल्लेख छ,‘पहिला अडियो सभ्य र भब्य बनाउ, अनि त्यही अनुसारको म्युजिक भिडियो निर्देशकहरुले निर्माण गर्नेछन् ।’

तथापि अडियोको भाव एकातिर हुँदा भिडियोलाई भाइरल बनाउने चाहना बोकेर आएकाहरुका लागि अस्लिल भिडियो नबनाउन पनि अध्यक्ष श्रेष्ठले निर्देशकहरुलाई अपिल गरेकी छिन् ।

© 2026 All right reserved to loksancharkarmi.org.np  | Site By : Sobij