काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले रक्तदान गरेर १६औँ स्थापना दिवस मनाइँदै छ । यही माघ १९ गते रक्तदान काठमाडौंस्थित जोरपाटी र स्थापना दिवस बालाजुस्थित बाइसधारामा मनाउने भएको हो ।
सो १६औँ दिवसको अवसरमा अग्रज पत्रकार ओम भण्डारीलाई ‘गोविन्द शर्मा स्मृति’ क्रियासील पत्रकारिता सम्मानसमेत गरिने अध्यक्ष चन्द्रमणी गौतमले जानकारी दिए । लामो समयदेखि पत्रकारितामा सक्रीय पत्रकार भण्डारीलाई नगद ५ हजार ५५५ रुपयाँसहित सम्मान गर्न लागिएको अध्यक्ष गौतमले बताए ।
अघिल्लो १५औँ स्थापना दिवसमा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कडेँललाई सम्मान गरिएको थियो । २० गते आइतबार स्थापना दिवसको अवसरमा वनभोजको पनि आयोजना गरिएको र धेरै कलाकारहरुको सहभागिता रहनेसमेत अध्यक्ष गौतमले जानकारी दिए । उनका अनुसार आइतबार समापनको दिन वरिष्ठ संस्कृतिविद् तुलसी दिसस प्रमुख अतिथि रहने छन् ।
नेपाली मौलिक कला, संस्कृतिको क्षेत्रमा क्रियाशील रहँदै सञ्चारकर्ममा लागेको सो संस्थाको १६औँ स्थापना दिवस राजधानीमा मनाउन लागिएको अध्यक्ष गौतमको भनाई छ । संस्था स्थापनाको १६औँ वर्ष पूरा गरेको अवसरमा दुई दिनसम्म स्थापना दिवस मनाइने उनले बताए ।
शनिबार बिहान १० बजेदेखि सुरु हुने रक्तदान कार्यक्रममा नेपाल मेडिकल कलेज, रक्त सेवा विभागको प्राविधिक सहयोग, गोकर्णेश्वर नगरपालिका र वडा नं. ५ कार्यालयको सहकार्यमा सम्पन्न हुने अध्यक्ष गौतमले जानकारी दिए ।
रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल प्रमुख अतिथि र वडाध्यक्ष नारायण बहादुर सुवेदीको आतिथ्य रहने उनले बताए ।